असार २८ काठमाडौं: नेपाल महिला संघ, अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी), जनसंख्या र विकासका लागि सांसद मञ्च (NFPPD)को संयुक्त आयोजनामा नेपालका महिला संगठनका नेताहरु, दलका प्रतिनिधिहरु, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरु, राजनीतिक दलहरु, नागरिक समाजका अगुवाहरु बिच छाउपडी प्रथा अन्तका लागि नीति, कानून र संयन्त्र निर्माणका साथै आगामी दिनमा महिला विरुद्ध हुने हिंसा र छाउपडी जस्ता कुरीति विरुद्ध आवाज बुलंद गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा संविधानसभा सदस्य श्री बिन्दा पाण्डेद्वारा छाउपडी प्रथा र विभेद अन्त्यको साझा अभियानका लागि आधार पत्र प्रस्तुत गर्नुभएको थियो ।
आधार पत्रमा नेपाल सरकारले छाउपडी प्रथाका विरुद्धमा प्रसस्त नीति कानुनहरु रहेको तर कानुन कार्यान्वयनमा समस्या रहेको, धर्म परम्पराका नाममा महिलाहरु रजस्वला हुँदा वा सुत्केरी हुँदा छाउगोठमा बस्नुपर्ने, पोषिलो खाना खान नपाउने कारण महिलाहरु बलत्कृत हुनुपर्ने, बन्यजन्तुले आकक्रम गरेर घाइते हुने वा मृत्यु वरण गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको, सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खान नपाउँदा आमा र शिशुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने जस्ता कुराहरुबाट विशेष गरी महिलाहरु पिडित भइरहेको विषयलाई विशेष गरी नीति निर्माण तहका सांसदहरु र महिला आन्दोलनले विशेष पहल गर्नुपर्ने विषय उठाईएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसदहरु तथा सहभागिहरुले आ-आफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो । भेलाबाट आएका निष्कर्षहरु गृृह मन्त्रालयका सहसचिव गोगन बहादुर हमालको नेतृत्वमा बनेको छाउपडी प्रथा अन्त्यका लागि बनेको समितिलाई हस्तान्तरण गर्ने योजना रहेको छ ।
कार्यक्रमको अध्यक्षता नेपाल महिला संघका अध्यक्ष श्री उषा राउतले गर्नुभएको थियो भने अखिल नेपाल महिला संघका अध्यक्ष श्री टुका भद्र हमालले स्वागत गर्नुभएको थियो । कार्यक्रमको संचालन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का उपाध्यक्ष श्री रेणु चन्दले गर्नुभएको थियो ।