अखिल नेपाल महिला संघ, संगठन सुदृढीकरण अभियान अन्तर्गत कर्णाली प्रदेशको अनुशिक्षण २०८० चैत २६ गते बिरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ । कार्यक्रममा अनेमसंघका उपाध्यक्ष एवम् अनुशिक्षणका लागि कर्णाली संयोजक सुमित्रा बिसीले अभियानमा गरिने कार्यक्रमको योजना प्रस्तुत गर्नुभएको थियो ।
उहाँले कर्णाली जस्तो भौगोलिक विकटता रहेको ठाँउमा अभियान संचालन गर्दा अप्ठ्यारो हुने भएकोले योजनाबद्ध ढंगले सबैको सहयोगमा कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो। २०८०–८१ मा कर्णाली प्रदेशमा सदस्यता वृद्धि गर्ने, कमिटीहरूलाई चुस्तदुरुस्त राख्न प्रशिक्षणहरूको आयोजना गर्ने र अवधि पुगेका कमिटीहरूको सम्मेलन गर्नुपर्ने विषयमा सहभागिहरूलाई स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेमसघका अध्यक्ष टुका भद्र हमालले महिला अधिकार प्राप्तिका लागि स्थानिय तहबाटै विषयहरूको उठान हुनुपर्ने, केही समस्या आए स्थानिय तहमा हल गर्नका लागि पहल गर्ने र अभियानमा सबैले सक्रियतापूर्वक भाग लिनुपर्नेमा जोडदिनु भएको थियोे ।
त्यसैगरी, अनेमसंघका महासचिव पेम्बा लामाले संगठन सुदृढीकरणका लागि गरेका कामको व्यवस्थित अभिलेख राख्नुपर्ने, समयमा सदस्यता नविकरण गर्ने, नयाँ सदस्यता वितरणका लागि योजना निर्माण गर्ने, आर्थिक पारदर्शिता कायम गर्नुपर्ने, स्थानीय समस्या पहिचान गरी समस्या समाधानका लागि पहल गर्नुपर्ने, नेतृत्व हस्तान्तरणका लागि युवा नेतृत्व विकास गर्ने र समानुपातिक समावेशीकरणको सिद्धान्त अनुरूप महिला भित्र पनि समावेशिता अपनाउनु पर्ने र प्रदेश, जिल्ला, पालिका देखि स्थानीय तहमा दक्ष जनशक्ति तयार गर्नका लागि सम्बन्धित तहका प्रशिक्षक तयार गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभएको थियो।
कार्यक्रममा अनेमसंघका कर्णाली प्रदेशका केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारीहरू, जिल्ला कमिटीका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा अनेमसंघका सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज मिना सिं रखाल, अनेमसंघ स्थायी कमिटी सदस्य एवम् केन्द्रीय प्रशिक्षण विभाग प्रमुख डा. पुष्पा केसी भण्डारी, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमला केसीको पनि उपस्थिति रहेको थियो भने कर्णाली प्रदेशका ८ जिल्लाका ४० जनाको सहभागीता रहेको थियो ।